राप्रपा एकताको टुंगो, समान हैसियतमा तीन अध्यक्ष

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई घटकबीच एकताका लागि सहमति जुटेको छ।  कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकता गर्ने सहमति भएको हो। शनिबार राति अबेर सहमति जुटेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन्।

समान हैसियतमा तीन अध्यक्ष रहने गरी एकताको समहति भएको समहतिको बुँदामा उल्लेख छ।  राप्रपाका वर्तमान अध्यक्ष कमल थापा, राप्रपा सं‍युक्तका अध्यक्षद्वय पशुपति शमसेर जबरा र डा प्रकाश चन्द्र लोहनी तीनै जना अध्यक्ष रहने छन्। पार्टीको निर्णय तथा जिम्मेवारी बाँडफाड गर्दा तीनै अध्यक्षको सहमतिमा हुने र बैठकको अध्यक्षता पालैपालो गर्ने समहति भएको छ।

पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै रहने र चुनाव चिन्हबारे छलफलपछि निर्णय लिने जनाइएको छ। एकताकफ आधार पत्र भनी १० बुँदे सहमति पत्र जारी गरिएको छ।

नेपालको संविधान २०७२ मा रहेका केहि प्रावधानहरु प्रति रहेका हाम्रा असहमति कायमै राख्दै वर्तमान संविधानसँग सहकार्य गर्दै संविधानको कार्यान्वयन गर्ने सहमति पत्रमा लेखिएको छ।

एकिकरण सम्बन्धि आधारपत्र र कार्यविधि निर्धारण गर्न राप्रपाबाट दिपक बोहरा, बुद्धिमान तामाङ र भाष्कर भद्रा र राप्रपा (संयुक्त) बाट बिक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिना रहेको कार्यदल गठन गरिएको राप्रपाले जनाएको छ।

राजसंस्थाको छायामा २०४७ जेठ १५ मा दुईवटा राप्रपा स्थापना भएका थिए। स्थापनाको एक वर्षमै दुवै पार्टीबीच एकता भयो। तर, समय क्रमसँगै यो पार्टी पुनः विभाजन भयो। त्यसपछि राप्रपाले पटक–पटक जुट र फुटको नियति व्यहोर्दै आएको छ। पछिल्लोपटक २०७३ मंसिरमा राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएको थियो। त्यसलगत्तै राप्रपाका अर्का नेता लोहनीले एकीकृत राप्रपा (राष्ट्रवादी) लाई छुट्टै गठन गरे। त्यसपछि ०७४ साउनमा सरकार प्रवेशको विषयमा मतभेद भएपछि राप्रपा अध्यक्ष थापा र वरिष्ठ नेता राणाबीच विवाद बढ्यो र विवादपछि राणाले पार्टी फुटाएर राप्रपा (प्रजातान्त्रिक) गठन गरेका थिए। ०७५ कात्तिकमा दुई राप्रपाको एकता प्रक्रिया फेरि सुरु भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close