कोभिडपछिको विश्वमा कुटनीतिलाई नियाली हेर्दा : एक भारतीय विचार

कोभिडपछिको विश्वमा कुटनीतिलाई नियाली हेर्दा : एक भारतीय विचार

कोभिड—१९ महामारीलाई परास्त गर्ने अभीष्ट आशासहित हामी २०२१ मा प्रवेश गरेका छौं । प्रत्येक समाजले यसलार्ई भिन्न तरिकाले सामना गरे पनि, यस विरुद्घ जुझे पनि वैश्विक कुटनीतिले आफ्नो सम्पूर्ण ध्यान साझा चिन्ता र सिकाईमा केन्द्रित गर्नेछ । धेरै जसो कुराहरु भूमण्डलीकरणको प्रकृतिमाथि पनि निर्भर गर्दछ ।

यस घटनाले हाम्रो पुस्तालाई विशेष गरी आर्थिक क्षेत्रमा निकै सोच्न बाध्य बनाएको छ। सामान्य अर्थमा व्यापार, वित्त, सेवा, सञ्चार, प्रविधि तथा गतिशिलतामाथि साँच्चै नै सोच्नुपर्ने क्षण आएको छ। यसले हाम्रो युगको एक अर्काप्रतिको निर्भरता र परस्पर सम्बन्धलाई अभिव्यक्त गर्दछ। हाम्रो अस्तित्वको गहिरो अविभाज्यतालाई कोभिडले बाहिर ल्याएको छ। विश्वव्यापीकरणलाई बुझ्दै गर्दा महामारी, जलवायु परिवर्तन र आतङ्कवाद जस्ता कुराहरुलाई सहजै नर्कान सकिदैन। कुटनीतिक विचार विमर्शमा यी पक्षहरु समाविष्ट हुनैपर्छ जसको ज्वलन्त उदाहरण सन् २०२० मा हामीले महामारीलाइ बेवास्ता गर्दा भोग्नुपरेको पीडा एवम् चुकाउनु परेको मूल्यलाई लिन सकिन्छ ।

यसका धेरै फाइदाहरु भए पनि विश्वले विश्वव्यापीकरणप्रति विविध प्रतिक्रियाहरु झेलेको छ । धेरै जसो समाजबीच र समाजभित्रका असमान लाभबाट उत्पन्न हुन्छन् । तसर्थ यस्ता परिस्थितिहरु बारे बेखबर रहेका शासन पद्घति तथा प्रबन्धमाथि यसले ठूलो चुनौती खडा गरेको छ । हामी के कुरामा निश्चिन्त हुन जरुरी छ भने यो विजेता र परास्त व्यक्तिका बारेमा नभएर समुदायको दिगो विकासको बारेमा हो ।

कोभिड—१९ ले सुरक्षा सम्बन्धमा हाम्रो बुझाइलाई पनि झकझकाएको छ। अहिलेसम्म राष्ट्रहरुले सुरक्षा भन्ने बित्तिकै सैन्य, खुफिया, आर्थिक र सांस्कृतिक गतिविधिलाई बुझ्दथे तर अहिले आएर यी मुलुकहरुले स्वास्थ्य सुरक्षालाई विशेष महत्व दिदै भरलाग्दो एवम् सुरक्षित आपूर्ति प्रणाली उपर चासो एवम् चिन्ता व्यक्त गर्न थालेका छन्। कोभिड—१९ ले निम्त्याएको समस्याले हाम्रो वर्तमान अवस्थाको नाजुकतालाई प्रष्ट्याएको छ। वैश्विक अर्थतन्त्रलाई जोखिमरहित बनाउन विकासका थप इन्जिनहरुको आवश्यकता पर्दछ।

बहुपक्षीय संस्था यस दुखद अनुभवबाट राम्रोसँग निस्किन पाएका छैनन् । सन् १९४५ देखि नै धेरै जसो गम्भीर विश्वव्यापी महामारीविरुद्घ लड्न सामूहिक प्रयासहरु भएका छैनन् । तसर्थ यसमा गम्भीर समीक्षा हुन अत्यावश्यक छ । प्रभावकारी समाधान सिर्जना गर्न निमित्त बहुपक्षीय संस्थालाई सुधार गर्न अत्यन्त जरुरी छ।

कोभिड—१९ ले निम्त्याएको चुनौतीविरुद्घ प्रभावकारी रुपमा लड्न चालिने प्रयासले सन् २०२१ मा विश्वव्यापी कुटनीतिमाथि हाबी हुने देखिन्छ । भारतले यसमा एउटा उदाहरण पेश गरिसकेको छ । भारतले मृत्युदरलाई घटाउदै र निको हुने दरलाई बढाउदै महामारीविरुद्घको लडाइमा सफलता हासिल गरेको छ । यति मात्र नभएर १५० भन्दा बढी मुलुकलाई अनुदान स्वरुप औषधी आपूर्ति गरेर विश्व जगतमै प्रशंसा बटुल्न सफल भएको छ ।
हाम्रो मुलुक कोरोना विरुद्घको खोप अभियानमा लागिसकेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वलाई नै सर्वसुलभ र सहज तरिकाले खोप उपलब्ध गराउन मद्दत गर्ने वाचा अनुरुप सो कार्य कार्यान्वयन अवस्थामा रहेको छ । भारतमा बनेको खोप भारतका नजिकका छिमेकी मुलुकहरु—भुटान, माल्दिभ्स, बङ्गलादेश, नेपाल ,मौरिसस, सेसेल्स र श्रीलङ्का मात्र नपुगी भारतभन्दा निकै टाढाका मुलुकहरु ब्राजिल र मोरक्कोमा समेत पुगिसकेको छ ।
यस बाहेकका अन्य विश्वव्यापी समस्याहरुले यस्तै स्तरको ध्यान पाउन जरुरी छ । पेरिस सम्झौतामा हस्ताक्षर गरिसकेको भारत जलवायु परिवर्तनले निम्त्याएको चुनौतीविरुद्घ लड्न कटिबद्घ छ । नवीकरणीय उर्जामाथि लिइएको लक्ष्यहरुलाई बढाइएको छ, वनक्षेत्रको आकार बढेर गएको छ, जैविक विविधता विस्तार गरिएको छ र पानीको उपयोगमा भारत बढी केन्द्रित भएको छ । भारतमा अपनाइएका अभ्यासहरु यसका विकास साझेदारहरु अफ्रिका र अन्य मुलुकमा पनि लागु गरिएको छ । उदाहरण र उर्जाद्वारा, International Solar Alliance र Coalition for Disaster Resilient Infrastructure पहल मार्फत भारतीय कुटनीति अघि बढिसकेको छ ।

आतंकवाद र यस्ता गतिविधिमा संलग्न तत्वहरुले निम्त्याउने चुनौती पनि डरलाग्दो छ । लामो समयदेखि सीमापार आतंकवादी समस्यासँग जुझ्दै आएको भारतले विश्वव्यापी चेतना अभिवृद्वि गर्न र समन्वयित कार्यलाई प्रोत्साहित गर्न सदैव तदारुकता देखाएको छ । सुरक्षा परिषदको गैर—स्थायी सदस्यको रुपमा र FATF र G20 जस्ता अन्तराष्ट्रिय मञ्चहरुमा भारतको कुटनीति यसै कुरामा केन्द्रित हुनेछ ।

कोभिड—१९ ले सिकाएको अर्को अनुभव भनेको डिजिटल डोमेनको शक्ति रहेको छ । कन्ट्याक्ट ट्रेसिङ्गलाई लिएर होस् वा वित्तिय वा खाद्यान्न सामाग्रीको व्यवस्थालाई लिएर होस् भारतको डिजिटल फोकसले सन् २०१४ पछि प्रभावशाली नतिजा प्राप्त गरेको छ । कोभिड—१९ का कारण ‘जहाँसुकैबाट काम’ र ‘घरबाट अध्ययन’ जस्ता प्रयोगहरु व्यापक रुपमा प्रयोगमा आए । यी सबैले भारतको विकास कार्यक्रमसँग सम्बन्धित उपकरणहरुलाई विदेशमा विस्तार गर्न सहयोग गर्नेछ । साथै भारतका थुप्रै साझेदारहरुको विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

यसको अलावा सन् २०२० मा भारतले विदेशमा रहेका ४० लाख भारतीय नागरिकलाई स्वदेश फर्काई समकालीन समयमा गतिशिलताको महत्वलाई उजागर गरेको छ । कुटनीतिको माध्यमबाट गतिशिलतालाई सहजीकरण गर्नु विश्वव्यापी हितमा छ ।

सन् २०२१ मा सामान्य जीवनमा फर्किनु भन्नाले सुरक्षित यात्रा, राम्रो स्वास्थ्य, आर्थिक गतिविधि चलायमान र डिजिटल सञ्चालित सेवाहरुलाई बुझाउनेछ । यी कुराहरु नयाँ कुराकानी र ताजा सिकाइमा व्यक्त हुनेछन् । कोभिड पछिको विश्व अधिक बहु—ध्रुवीय, बहुलवादी र पुनः सन्तुलित हुनेछ । र, भारतले आफूले आर्जेको अनुभवबाट नयाँ सिकाई स्थापित गर्न सहयोग गर्नेछ ।

यो लेख २०७७ माघ २९ गते www.newsweek.com मा प्रकाशित भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close