आर्मीकी उत्कृष्ट सुटर कल्पनालाई टोकियो ओलम्पिकमा प्राप्त अवसर

जापानमा आगामी जुलाई २३ देखि अगस्ट ८ सम्म हुने टोकियो ओलम्पिकका लागि नेपाली सेनाकी सुटिङ खेलाडी कल्पना परियारले वाइल्ड कार्डमार्फत नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर प्राप्त गरेकी छिन्।

कल्पनाले त्यहाँ १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्।

सेनाको कालीबक्स गणकी सिपाही कल्पना टोकियो ओलम्पिकका लागि यस वर्ष वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी हुन्।

ओलम्पिक कमिटीले तोकिएका विभिन्न मापदण्ड पूरा गरेका आधारमा कल्पना ओलम्पिकमा छनोटमा परेकी हुन्।

त्रिभुवन आर्मी क्लबमा उत्कृष्ट सुटरका रुपमा स्थापित कल्पनाले यसअघि कतारमा भएको सन् २०१९ को एशियन च्याम्पियनशिप र चीनको उहानमा अघिल्लो वर्ष भएको सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा पनि प्रतिस्पर्धा गरेकी थिइन्।

भारतमा भएको विश्व कप र इण्डोनेशियाको जाकर्तामा सम्पन्न एशियन खेलकुदमा पनि कल्पनाले निकै राम्रो प्रतिस्पर्धात्मक प्रदर्शन गरिएको सैनिक शारीरिक तालीम तथा खेलकुद केन्द्रबाट प्रमुख महासेनानी शशिकिरण रायमाझीको भनाइ छ।

यस वर्ष सुटिङ खेल विधामा कल्पना उत्कृष्ट खेलाडी घोषित भएकी थिइन्। सेनामा भर्ना भएपछि फायरिङमा अब्बल साबित भएपछि कल्पना सुटिङ विधाका लागि त्रिभुवन आर्मी क्लबमा आबद्ध भएकी थिइन्।

यसअघि स्नेहा राज्यलक्ष्मी राणाले लण्डन ओलम्पिकमा उक्त विधामा नेपालका तर्फबाट भाग लिएकी थिइन्।

सुटिङमा उमेर समूह र तौल समूह नहुने हुँदा मिहिनेती खेलाडीलाई निरन्तर दक्ष प्रशिक्षकबाट प्रशिक्षण भएमा ओलम्पिक खेलमा समेत नेपाललाई पदक दिलाउन सकिनेछ। setopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close