धोबिनी गापाको बजेटमा जनप्रतिनिधि र कर्मचारीको भागबन्डा

पर्साको धोबिनी गाउँपालिकाले चालू आव २०७८/७९ मा सार्वजनिक गरेको बजेट विकासमुखी नभई वितरणमुखी भएको पाइएको छ । धोबिनी गापाका बुद्धिजीवीहरूका अनुसार जनप्रतिनिधि तथा कर्मचारीको मिलेमतोमा अधिकांश बजेट टुक्रे र वितरणमुखी कार्यक्रममा विनियोजन गरिएको छ ।

गापा उपाध्यक्ष पारसनाथप्रसाद कुर्मीले सार्वजनिक गरेको अनुमानित रु ४० करोडको बजेटमध्ये रु २० करोड आसेपासे, नेता, कार्यकर्तालाई रिझाउन टुक्रे, खुद्रे र वितरणमुखी कार्यक्रममा बजेट विनियोजन गरिएको आरोप लगाइएको छ । रु ५० हजारदेखि रु २० लाखसम्मको बजेट विनियोजन गरिएको छ । वितरणमुखी योजना अन्तर्गत ग्याँस चुलो, सोलार, धारा, प्रेसरकुकर, पोशाक, सडकबत्ती, रङ्गरोगन तथा माटो पुरी ग्राभेल गर्ने योजनामा छुट्याइएको छ।

लामो प्रयासपछि कर्मचारीहरूले रु ५ करोड ४१ लाख र जनप्रतिनिधिहरूले रु १२ करोड आफूहरूले खर्च गर्ने गरी निर्णय गर्दै बजेटमा आफूअनकूल कार्यक्रम समावेश गर्न सफल भएको गापाको बजेट पुस्तिकाबाट पुष्टि हुन्छ । गापाका अध्यक्ष सुरेशप्रसाद कुर्मीले रु २ करोड ६१ लाख खर्च गर्नेगरी भाडबन्डाको योजना ल्याएका छन् । जसमध्ये टावर लाइट खरीदमा रु १५ लाख, औषधि तथा सर्जिकल सामान खरीदमा रु २० लाख, चापाकल खरीदमा रु २० लाख, टावरलाइट खरिदमा रु ६० लाख, सडकबत्ती जडानमा रु १० लाख, ग्याँस चुलो वितरणमा रु १० लाख तथा अन्य योजनामा रु १२ लाख छुट्याएकोमा गाउँलेले आपत्ति प्रकट गरेका छन् ।

उपाध्यक्षले खर्च गर्नेगरी विनियोजित रकममा रु १ करोड ६१ लाखमध्ये वितरणमुखी योजना अन्तर्गत सोलार जडान रु ५ लाख, स्प्रे टङ्की खरीदमा रु ५ लाख, ग्याँस सिलिन्डरमा रु ५ लाख, माटो पुरी ग्रोभेल गर्न रु १० लाख आदि योजना राखेका छन् ।

त्यसैगरी, कर्मचारीले आफ्नो भागमा पाएको रु ५ करोड ४१ लाखमध्ये नक्कली बिल भरपाई बनाएर खाने योजना अन्तर्गत कार्यालय सञ्चालन गर्न पानी बिजुलीमा रु १० लाख, सञ्चार महसूलमा रु १० लाख, इन्धनमा रु ३० लाख, सवारीसाधन मर्मतमा रु १५ लाख, मेशिनरी तथा औजार मर्मतसम्भारमा रु १० लाख, मसलन्द तथा कार्यालय सामग्रीमा रु २५ लाख, पत्रपत्रिका तथा सूचना छपाइमा रु ३० लाख, सेवा परामर्शमा रु १५ लाख, सूचना प्रणाली सफ्टवेयर खरीदमा रु ५ लाख, कार्यक्रम सञ्चालनमा रु ४० लाख, अनुगमन मूल्याङ्कन खर्चमा रु १६ लाख, विविध खर्चमा रु ३० लाख, सभा सञ्चालनमा रु ५ लाख, उद्धार, राहत तथा पुनस्र्थापना खर्चमा रु २० लाख, सवारीसाधन, मेशिनरी औजार भाडामा रु २ लाख, वडाको प्रशासनिक खर्चमा रु ९ लाख तथा पदाधिकारी पारिश्रमिकमा रु ८२ लाख, कर्मचारी पारिश्रमिकमा रु ८८ लाख छुट्याइएको छ ।

वितरणमुखी योजना अन्तर्गत वडा नं १ मा रु १ करोड ७ लाख, वडा नं २ मा रु ७५ लाख, वडा नं ३ मा रु १ करोड १५ लाख, वडा नं ४ मा रु ८४ लाख, वडा नं ५ मा रु १ करोड २६ लाखको योजना सञ्चालन गर्ने बजेट ती वडाका अध्यक्षहरूले पाएका छन् ।

कार्यपालिका सदस्य विक्रमजीत कलवारले रु २० लाख, मगरीदेवी चमइनले रु २० लाख, देवताली देवीले रु २७ लाख, शान्तिदेवीले रु २० लाख, दीपक सर्राफले रु ४४ लाख आआफ्नो भागमा पाएको बजेट पुस्तिकामा उल्लेख छ । eprateek

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close