पर्साका ७ पालिकाले इन्धनको नाममा एक वर्षमै सके डेढ करोड रुपैयाँ

वीरगञ्ज – पर्सा जिल्लामा रहेका १४ पालिकामध्ये ७ वटा पालिकाले मनोमानी रूपमा इन्धनमा पैसा खर्च गरेका छन्। जिल्लाका विभिन्न सात वटा पालिकाले एक वर्षमै डेढ करोडभन्दा बढीको इन्धन खर्च गरेका छन्।

सात वटा पालिकाले ०७६।७७ मा इन्धनमा मात्रै एक करोड ८० लाख ६ सय ७८ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयले जारी गरेको वार्षिक प्रतिवेदन २०७८ मा जनाइएको छ।

महालेखाका अनुसार ०७६।७७ मा जिल्लाको पोखरिया नगरपालिका, कालिकामाई गाउँपालिका, ठोरी, धोबिनी, सखुवा प्रसौनी, पटेर्वा सुगौली र जगरनाथपुर गाउँपालिका गरी सात वटा पालिकाले एक करोड ८० लाख ६ सय ७८ रुपैयाँ इन्धनमा खर्च गरेका छन्।

सोमध्ये सबैभन्दा बढी जगरनाथपुर गाउँपालिकाले एक वर्षमै ३१ लाख ७६ हजार ३० रुपैयाँको इन्धन खरिद गरेको महालेखाले जारी गरेको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी, सखुवा प्रसौनी गाउँपालिकाले २५ लाख १९ हजार ६१, धोबिनीले २४ लाख ९४ हजार एक सय ८६, कालिकामाईले २३ लाख ९५ हजार ३ सय ८४, ठोरीले २२ लाख ७६ हजार ८ सय ६८, पोखरिया नगरपालिकाले १७ लाख ८५ हजार ४९ र पटेर्वा सुगौली गाउँपालिकाले एक वर्षमै १२ लाख ३ हजार १ सय रुपैयाँ इन्धनमा खर्च गरेका छन्।

इन्धन खर्च गर्दा गाडीको लगबुक राख्नुपर्ने र कर्मचारीलाई मोटरसाइकलमा पेट्रोल खर्च दिँदा मासिक रूपमा सीमा तोकी प्रदान गर्नुपर्ने हुन्छ। तर, पोखरिया नगरपालिकाले केही इन्धन कुपनमा गाडी नम्बर नखुलेको र मोटरसाइकलमा १० देखि २५ लिटरसम्म इन्धन उपलब्ध गराएको देखिएको महालेखाले जनाएको छ।

इन्धन खर्च गर्दा अनिवार्य लगबुक राखी मोटरसाइकलको मासिक सीमा तोकेर खर्चमा मितव्ययिता अपनाउन महालेखाले पालिकाहरूलाई सुझाव दिएको छ।

इन्धन खर्च गर्दा लगबुक नै नराखी तथा कुपनका आधारमा इन्धन खर्च गर्दा पालिकाहरूले बढी पैसा खर्चिनुपरेको महालेखाको भनाइ छ।
सरकारी खर्चमा प्रभावकारिता तथा मितव्ययिता कायम गर्ने नीतिगत मार्गदर्शन, ०७५ ले सरकारी खर्चलाई किफायती तरिकाले खर्च गर्न सुझाएको छ। deshsanchar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close