असारे विकाको नमुनाः २५ लाखमा बनाइयाे महानगरमा गुणस्तरहीन कल्भर्ट पुल

मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकामा गत आर्थिक वर्ष २०७८/७९ को अन्तिम महिना असारमा बनाइएको कल्भर्ट पुल गुणस्तरहीन रहेको पाइएको छ।

महानगरको वडा नम्बर ३० लालपर्सा टोलमा २५ लाखको लागतमा बनाइएको कल्भर्ट पसल गुणस्तरहीन भएको पाइएको हो।

उपभोक्ता समितिमार्फत् बनाइएको उक्त कल्भर्ट पुलकाे आधाभन्दा बढी भागमा ढलान नै भएको छैन। ढलान पनि नभएका कारण पुलको माथिल्लोपट्टि राखिएको छडसमेत खुल्ला रूपमै राखेर छाडिएको छ।

गुणस्तरहीन कल्भर्ट पुल निर्माण भएको भन्दै स्थानीयबासीहरू उक्त पुल हेरेर छक्क पर्ने गरेका छन्। उनीहरूले पुल निर्माणको क्रममा चरम रूपमा आर्थिक अनियमितता गरी भ्रष्टाचार गरिएको भन्दै सोमा संलग्न उपभोक्ता समतिका पदाधिकारी, इन्जिनियर लगायतलाई कारवाही गर्नुपर्ने मागसमेत गरेका छन्।

मधेस प्रदेशकी प्रदेश सांसद भीमा यादवको संसदीय विकास कोषको २५ लाखको लागतमा उक्त पुल निर्माण भएको हो। असार महिना बित्नै लाग्दा बजेटमा अनियमितता गर्ने मनसायले उपभोक्ता समति गठन गरी कल्भर्ट निर्माण गर्ने जिम्मेवारी दिइएको थियो।

पुल निर्माणमा चरम अनियमितता भई गुणस्तरहीन निर्माण भएको बारेमा प्रदेश सांसद भीमा यादवसित बुझ्दा उनले गुणस्तरीय काम भए नभएको बारेमा इन्जिनियरले ध्यान दिनुपर्ने बताइन्।

आफूले उक्त वडामा बर्सेनि बाढीले क्षति पुर्‍याउँदै आएकोले बाढीबाट बच्न २५ लाखको बजेट कल्भर्ट निर्माण गर्न उनकाे भनाइ छ।

कल्भर्ट पुल गुणस्तरहीन निर्माण हुनुमा बीचमै इन्जिनियर पनि सरुवा गराएर अन्तै गएको हुनसक्ने यादव बताउँछिन्।

‘मैले त लालपर्सामा बर्सेनि बाढीले क्षति पुर्‍याएकाे थाहा पाएर २५ लाख बजेट दिएर कल्भर्ट बनाउन जिम्मा दिएको थिएँ। राम्रो बनाउन इन्जिनियरले पनि ध्यान दिनु पर्थ्याे नि। पुलको इन्जिनियर पनि बीचमै सरुवा गराएर अन्तै गएकोले पनि काम गुणस्तरहीन भएको हुन सक्छ।’

कलभर्ट पुल अहिले अधुरो नै निर्माण भएको बताउँदै यादवले आगामी आर्थिक वर्षमा त्यही पुल बनाउन थप बजेट दिने पनि जानकारी दिइन्।

‘अहिले बनेको कल्भर्ट पुल अधुराे नै निर्माण भयो, त्यसलाई पूरा गर्न मसँग अझै एक वर्ष छ। थप बजेट पनि हाल्नेछु’,उनले भनिन्।

पुल निर्माणमा खटिने पूर्वाधार विकास कार्यालयका इन्जिनियर रामदेव खड्का यादव भने बढुवा भएर अन्तै गएकाले उनीसँग सम्पर्क हुन सकेन।

उपभोक्ता समितिका अध्यक्ष सन्तोष साहले १४ लाख रुपैयाँको मात्रै भुक्तानी पाउने बताए।

इन्जिनियर खडकाले अन्तिम दिन अनुगमन गर्दा पुलको काम सम्पन्न नभएकोले सम्पन्न भएको कार्यको मात्रै भुक्तानी गर्ने‍गरी काम सम्पन्न भएको बेहाेरा जनाएको उनको भनाइ छ।

‘असारमा काम गर्दै जाँदा दिनरात काम गरेर कल्भर्ट बनाउँदा पनि असार २५ गतेसम्म पुलको पुरै काम सम्पन्न गर्न सकेनौँ’,उनले भने,’इन्जिनियर साहेबले पनि पूरै काम सम्पन्न नभएकोले भएजत्तिकै भुक्तानी हुने गरी बताएर जानु भयो।’

वडा नम्बर ३० लालपर्सामा बर्सेनि भेडाहा खोलाको बाढीले क्षति पुर्‍याउने गरेको छ।खोलाकै बाढीले अहिले बनाइएको कल्भर्ट पुलभन्दा अघिको कल्भर्ट पनि बनाएकै साल भत्काएको थियो। अहिले बनाइएको कल्भर्ट पुल पनि गुणस्तरहीन भएकोले यो पनि भत्किने सम्भावना प्रबल रहेको छ। deshsanchar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close