रौतहटका दुई मेयर: दिउँसो बजेट ल्याए, साँझ पदमुक्त भए

असार १० गते बिहीबार अर्थात स्थानीय तहले बजेट ल्याई सक्नुपर्ने अन्तिम दिन।

रौतहटका दुई नगरपालिकाले पनि आफनो बजेट ल्याए। जिल्लाको मौलापुर नगरपालिका र कटहरिया नगरपालिकाले बिहीबार आ–आफनो नगर सभामार्फत अगामी आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गरे।

मौलापुर नगरपालिकाले आफनो नगरसभा गरिरहँदा भने त्यहाँ विरोध प्रदर्शन भएको थियो। विरोध प्रदर्शनलाई शान्त पार्न प्रहरीले दर्जनौँ राउण्ड अश्रु ग्यास समेत प्रहार गर्नु परेकाे थियाे।

विरोधका बाबजुद पनि मौलापुर नगरपालिकाले अगामी आर्थिक वर्षको लागि बजेट ल्यायो। नगर सभामार्फत नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि रु.३६ करोड ६ लाख ५० हजार ५ सय रकम बराबरको बजेट ल्याएको छ।

नगरपालिकाकी मेयर रिनाकुमारी साहको सभापतित्वमा आयोजित नगरसभामा उप मेयर गौरी शंकर प्रसादले रु.३६ करोड ६ लाख ५० हजार ५ सय बराबरको बजेट प्रस्तुत गरेका थिए।

दिउँसो विरोधका बीचमा नगरपालिकाले बजेट ल्याए पनि साँझ भने उनीहरु पदमुक्त भए।

निर्वाचन आयोगले सूचना जारी गर्दै मौलापुर नगरपालिकाकी मेयर साह र उप मेयर प्रसाद पदमुक्त भएको जानकारी गरायो। दल त्याग गरेका आधारमा उनीहरु पदमुक्त भएका आयाेगले जनाएकाे छ।

मेयर साह र उपमेयर प्रसाद दुवै जना २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।तर,पछिल्लो समय उनीहरु नेकपा एमालेमा प्रवेश गरेका थिए ।

सोही कारण माओवादी केन्द्रले दुवै जनालाई पदमुक्त गर्न आयोगलाई पत्राचार गरेको थियो ।

मेयर पद गुमाएकी साह एमालेका नेता प्रभु साहकी श्रीमती हुन् ।

माओवादी छाडेर एमालेमा गएपछि प्रभु साहले पनि मन्त्री पद गुमाएका थिए।

यसैगरि रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा पनि पदमुक्त भएका छन्। कुशवाहा पनि आफू निर्वाचित दल त्याग गरि अन्य दलमा प्रवेश गरेपछि पदमुक्त भएका हुन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी पनि नेकपा माओवादी केन्द्रबाट नै निर्वाचित भएका थिए।

उनी पछिल्लो समय माओवादी छाडेर एमालेमा प्रवेश गरेका थिए ।

मेयर कुशवाहाले पनि बिहीबार आफ्नाे नगरपालिकाको अगामी आर्थिक वर्षका लागि बजेट ल्याएका थिए । deshsanchar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close